गोरखा । हिजो आजको शहरिया जीवनशैलीमा मोटपन अर्थात् वजन बढ्नु सामान्य जस्तै बनेको छ । वजन घटाउनका लागि अनेक तरिका अपनाउने गरिन्छन् । तर, कतिपय घरेलु तरिकाले नै लाभदायक हुन सक्ने कुरामा भने धेरैले ध्यान पुर्याउदैनन् । आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन घटाउने घरेलु उपायका बारेमा जानीराखौ ।
स्याउको जुस
स्याउको जुस हरेक बिहान पिउन सक्यो भने वजन कम गर्न मद्वत गर्दछ । यसले रक्तसञ्चार नियमित गर्छ । जसले गर्दा शरीरका सम्पूर्ण प्रणाली सहज रुपमा आफ्नो कार्य गर्न पाउँछन् र बोसो सञ्चित हुने संभावना कम हुन्छ ।
मह र कागती पानी
कागती र मह मिसाएर खानाले वजन कम हुन्छ । एक गिलास पानीमा मह र कागती राखेर थोरै कालो मरिच राख्नुपर्छ । बिहान उठ्नेबित्तिकै नियमित यसको प्रयोगले वजन घटाउन मद्दत गर्छ ।
ग्रिन टी
चिया नेपाली जीवनशैलीको अभिन्न अंग हो । बिहानै दुध चियाको सट्टा ग्रिन टी पिउँदा दोहोरो फाइदा हुन्छ । एउटा त चियाको तलतल मेट्छ, अर्को यसमा रहेको पोलिफेनाल्स नामक तत्वले बोसो घटाउन सहयोग गर्छ । युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका शोधकर्ताले यो पत्ता लगाएका हुन् ।
लौका
लौकामा पानी र रेशाको मात्रा अधिक हुन्छ । यसलाई तरकारीका रुपमा पनि खान सकिन्छ र जुस पनि पिउन सकिन्छ । १०० ग्राम लौकाको जुसमा केवल १२ क्यालोरी हुन्छ ।
धनियाँ
यसले किड्नीको सफाइ गर्ने काम गर्छ । किड्नीमा रहेको विकार बाहिर निकालेर स्वस्थ रहन मद्दत गर्नुका साथै पेटसँग सम्बन्धित रोग पनि ठिक पार्छ । यसले छिटै भोक लाग्ने समस्याबाट मुक्त गर्छ ।
टमाटर
टमाटरमा बिटा क्यारोटिनको र आइकोपिनको मात्रा धेरै हुन्छ । त्यसैगरी यसमा फाइबर बढी र क्यालोरी कम हुन्छ । जसले वजन घटाउन मद्दत गर्छ । बिटा क्यारोटिन शरीरका लागि फाइदाजनक तत्व हो ।
यस बाहेक पनि प्रसस्त पानी पिउने र एक्सरसाइज गर्ने काम पनि नियमित रुपमा गर्नु पर्दछ ।


