काठमाडौं । टर्कीमा विनासकारी भूकम्पपछिको राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले पनि सहयोग गर्ने भएको छ । सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा उद्धार राहतका लागि टिम र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएको भन्दै विपद्का बेला सम्भव भएसम्मको सहयोग उपलब्ध गर्नुपर्ने बताए ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत सहभागी भएका थिए । बैठकले टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पनि पठाउने निर्णय गरेको छ ।
टर्कीमा गएको भूकम्पले ठूलो विनाश गरेको छ । अहिलेसम्म ९ हजार भन्दा धेरैको मृत्यु भएको छ । खोजी र उद्धार जारी छ ।




















