काठमाडौं । आफूलाई प्रतिनिधि सभा सदस्यमा स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोग पुगेर श्रेष्ठले निवेदन दिएका हुन् ।
गएको मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–२ बाट उम्मेदवारी दिएका श्रेष्ठलाई रवि लामिछानेले पराजित गरेका थिए ।
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण लामिछानेको सांसद पद खारेज गरीदिए पछि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको थियो ।
त्यसैलाई आधार बनाएर श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । लामिछाने उम्मेदवार हुन अयोग्य रहेको सर्वोच्चले ठहर गरिसकेकाले अब आफूलाई स्वतः प्रतिनिधि सभा सदस्य निर्वाचित भएको घोषणा गर्नुपर्ने श्रेष्ठले माग गरेका छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले ४९ हजार ३०० मत पाएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।





















