गोरखा । आज माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समाप्त हुने पूर्णिमा । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको १ महिने श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आइतबार विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ ।
आजैको दिन काठमाडौमा अवस्थित शाली नदीमा जारी स्वस्थानी मेला समेत आजै समापन गरिने छ ।
पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।
स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम आजैका दिनबाट सकिने छ ।
विधिपूर्वक १ महिने व्रत गरेका नरनारीले माघ शुक्ल पूर्णिमाका दिन व्रतअनुसारको मनोकामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य समेत दिइन्छ ।
रातमा जाग्राम बसी देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
आइतबार मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर भोलि सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने गर्दछ ।


