पोखरा । पोखरा काहूँखोलामा आइतबार आत्मदाह गर्न खोज्ने डेरावाल युवकलाई बचाउने घरबेटीको मृत्यु भएको छ । आफ्नै घरमा स्टेशनरी पसल गरेको युवकले आत्मदाह गर्ने प्रयास गर्दा बचाउन खोज्ने ४० वर्षीया संगीता सापकोटाको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृ्त्यु भएको हो ।
प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीका अनुसार सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको हो । सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए ।
क्षत्रीलाई बचाउने क्रममा घरबेटी गंभिर घाइते भएकी थिइन् । दुवै जनालाई छिमेकीहरुले उद्धार गरी अस्पताल पुर्याएका थिए । अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको भने हात, खुट्टा र अनुहार जलेको अवस्थामा उपचार भई रहेको छ ।
उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म पनि खुल्न सकेको छैन ।


