गोरखा । लघुबित्तिय संस्थाले सर्व साधारणलाई ठगेको भन्दै पिडितहरुले आज जिल्ला भेला गरेको छ । लघुबित्तिय संस्था बिरुद्व संधर्ष समिति नेपालले जिल्ला भेलाको आयोजना गरेको हो ।
सदरमुकामको तमु छोंज धिं को भवनमा भएको भेलालाई केन्द्रिय अध्यक्ष मणीराम ज्ञवालीले संबोधन गरेका थिए । उनले देशैभर लघुबित्तिय संस्थाहरुबाट लाखौ मानिस पिडित भएको भन्दै लघुबित्तिय संस्थाहरुलाई तत्कालै खारेज गर्न नेपाल सरकार संग आग्रह गरेका थिए ।
जिल्ला भेला गर्नु पूर्व सहभागीहरुले सदरमुकामको खेलकुद मैदानबाट विभिन्न नारा लेखिएको प्ले कार्ड लिएर नगर परिक्रमा गरेका थिए ।
भेलामा जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने करिब ४०० जना पिडितहरुको सहभागीता रहेको लघुबित्तिय संस्था बिरुद्व संधर्ष समिति गोरखाका सचिव कौशल्या कोइरालाले जानकारी दिए ।
जिल्ला भित्र च्याउ जस्तै उम्रिएका लघुबित्तिय संस्थाहरुले गरिब महिलाहरुलाई भेला गरी जवरजस्ती सामुहिक ऋण दिएर फसाएको भन्दै पिडितहरुले गुनासो गरेका छन् ।
गोरखा जिल्ला अध्यक्ष सुशिला गुरुङको अध्यक्षमा भएको भेलाले नव सामन्तीको रुपमा स्थापित लघु बित्तिय संस्थाहरु खारेज गर्न, लघु बित्तिय संस्थाहरुद्वारा लगाईएका सामुहिक ऋण मिनाह गर्न, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताको आधारित काम र दामको ब्यवस्था गर्न र समाजबादी अर्थतन्त्रको बिकास गर्न सरकार संग माग गर्दै भेला सम्पन्न भएको छ ।




