काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज धरौटीमा छुटेका छन् । उच्च अदालत, पाटनले तोकेको ५ बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतले सन्दीपलाई धरौटीमा छाड्दै गर्दा विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामाग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न नपाइने भनिएको छ ।
उच्च अदालतले लामिछानेलाई पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट नगर्न समेत भनेको छ ।
अदालतको आदेशमा ‘पीडितको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ’ भनिएको छ ।
अदालतले लामिछानेलाई उपत्यका छाड्न समेत रोक लगाएको छ । उपत्यका छाड्नुपर्ने भए जिल्ला प्रहरी परिसर, काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने शर्तमा उल्लेख गरिएको छ ।
सर्तहरुको प्रभावकारिताका लागि लामिछानेको गतिविधिमाथि निगरानी राख्न प्रहरीलाई निर्देशन दिइएको छ ।




















