पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत मागेका थिए ।
मतदानमा अधिकारीको पक्षमा ३१ मत विपक्षमा २७ मत खसेको थियो । ६० सदस्यीय प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित रहेका थिए ।
एक स्वतन्त्रसहित माओवादी केन्द्र, राप्रपा र एमालेका ३३ सांसदको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमालेका अधिकारीलाई गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त गरेका थिए ।




















