गाेरखा संग्रालय परिषर भित्र रहेकाे पृथ्वीनारायण शाहकाे शालिक
गोरखा । स्याङजाको भिरकोट नगरपालिकाले पृथ्वी जयन्तिको अबसरमा सार्वजनिक बिदा दिने भएको छ । बिश्वहिन्दु युवा संघले बुधबार भिरकोट नगरपालिकाका प्रमुख गोबिन्द कर्मचार्यलाई सार्वजनिक बिदा दिन ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझ्दै भिरकोट नगरप्रमुख गोविन्द कर्मचार्यले पृथ्वीनारायण शाहले गरेको योगदान भुल्न नहुने र उनले गरेको कामको सम्मान गर्दै भिरकोट नगरपालिकाले यस बर्ष पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने बताए । प्रमुख कर्मचार्यले पृथ्वीनारायण शाहले गर्दा नै नेपाली भन्न पाइएको भन्दै बिश्वहिन्दु युवा संघले गरेको कामप्रति आफुहरु प्रभावित भएको समेत बताए ।
संघको पहलमा अघिल्लो बर्ष स्याङ्जाका ७ पालिकाले सार्वजनिक बिदा दिदैँ विभिन्न कार्यक्रम गरेका थिए । अर्जुन चौपारी गाउँपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपलिकाले सार्वजनिक बिदा दिनका लागि सकारात्मक देखिएको पनि युवा संघले जानकारी दिएको छ ।
अन्य पालिकाहरुसंग कुरा भएको बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले पृथ्वीनारायण शाहको योगदान हामिले भुल्न नहुने र पौष २७ गते नेपाल सरकारले पनि देश भर नै सार्वजनिक बिदा दिनु पर्ने बताए ।


