गोरखा । गोरखा बजारमा उत्पादन हुदैँ आएको नेपाली कागज उद्योगलाई कच्चा पर्दाथको अभाव भए संगै उत्पादनमा कमी आउन थालेको छ । गोरखा नगरपालिका–६ को फलाटेमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगलाई कच्चा पदार्थको अभाव भए संगै कागज उत्पादनमा समस्या आएको हो ।
कागज उत्पादनका लागि आबश्यक पर्ने लोक्ता जंगलबाट खोजेर ल्याउनु पर्ने भएपनि आबश्यकता अनुसारको कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए । ‘जंगलमा त खोजे जति लोक्ता पाइन्छ, उनले भने, ‘तर जंगलमा गएर संकलन गर्ने, बोक्रा निकालेर सुकाउने र उद्योगसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।’
शेर्पाले उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै ५ बर्ष भइसकेको छ । ‘बजारमा जति उत्पादन गरेपनि बिक्रीका लागि कुनै समस्या छैन, शेर्पाले भने, ‘बरु कागज उत्पादनका लागि सधै कच्चा पर्दाथको अभाव हुने गरेको छ ।’ जंगलबाट झिकेर ल्याएको लोक्ता उद्योगले प्रति क्विन्टल १५ हजार रुपैयामा खरिद गर्ने गरेको उहाँको बताउनुभयो । एक क्विन्टल कच्चा पर्दाथबाट २ हजार थान कागज उत्पादन हुने गरेको शेर्पाले जानकारी दिए ।
उद्योगमा अहिले परिवारका ३ सदस्य सहित १० जनाले रोजगारी पाएका छन् । शेर्पाले करिब ८ लाख रुपैयाको लागतमा उद्योग सञ्चालन गरेको बताए । ‘उद्योगका लागि दक्ष कामदारहरुलाई खानेबस्ने सुबिधा सहित १० हजारदेखि १५ हजार रुपैया तलव दिने गरेको छु, शेर्पाले भने, ‘ चर्को घाम लागको दिन २ पटकसम्म कागज निकाल्न मिल्ने र घाम नलागेको दिन १ पटक मात्र कागज निकाल्न मिल्छ।’
उद्योगले उत्पादन गर्दै आएको सबै कागज काठमाण्डौको कपन क्षेत्रमा रहेको ब्यापारीलाई बिक्री गर्दै आएको छ । उद्योगले माग अनुसारको १०, २०, ३० र ४० ग्राम तौलका कागज उत्पादन गर्दै आएको छ । शेर्पाले २० ग्राम कागजको प्रतिपन्ना २० रुपैया र ४० ग्राम कागजको प्रतिपन्ना ४० रुपैयामा बिक्री हुने गरेको सुनाए ।
उद्योग राम्रोसंग चल्दा मासिक ४ लाख रुपैयासम्म आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगका लागि चाहिने कच्चा पर्दाथ बन कार्यालयको अनुमति लिएर उत्तरी गोरखाको लाप्राक, लापु, मान्वु र खरिबोट क्षेत्रको जंगलबाट संकलन गरी ल्याउने गरिएको शेर्पाले जानकारी दिए ।
उत्पादित नेपाली कागज थाङ्का र्कोने, धुप बनाउने, डायरी बनाउने, नोटबुक बनाउने, बत्तीको कभर र विवाह कार्ड बनाउन प्रयोग हुने गरेको सञ्चालक शेर्पाले जानकारी दिए । ४० ग्रामका कागज भने विदेश निर्यात हुने गरेको छ ।










