काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिँदैछ ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दावी पेस गर्न आइतबार ५ बजेसम्मको समयसीमा दिएकी छन् ।
समयसीमा सकिनै लाग्दा पनि सरकार गठनका लागि कसरतमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने अझै भावी प्रधानमन्त्रीको टुङ्गो लगाउन सकेका छैनन् ।
कांग्रेसबाट संसदीय दलको नेतामा छनोट भएका सभापति शेरबहादुर देउवा र माओवादीबाट छनोट भएका पुष्षकमल दाहाल ‘प्रचण्ड’को आ–आफ्नै अडानका कारण छनोटमा ढिलाइ भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका देउवा पुनः प्रधानमन्त्री बन्ने दाउमा छन् भने यता प्रचण्ड पनि आफू नै पहिलो कार्यकालको प्रधानमन्त्री बन्न पाउनु पर्ने अडिक छन्।
शनिबार अबेरसम्मको छलफलमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दावी गरेपछि सहमति जुटेन । त्यसका लागि आज बिहान १० बजे बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दावी पेस नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ ।


