काठमाडौं । सिरियल किलरको रुपमा विश्वमाझ परिचित फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज जेलमुक्त भएका छन् ।
सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका हुन् । शोभराजलाई केही बेर अगाडी मात्र अध्यागमन विभाग लगिएको थियो । उनले पत्रकारहरूलाई फोटो र भिडिओ खिच्न दिइएन ।
१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रान्सेली नागरिक शोभराजलाई बुधबार छाड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो ।
सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब २० बर्षदेखी केन्द्रिय कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो ।
२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो ।
कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ । उनलाई प्रक्रिया पुर्याएर डिपोर्ट गरिने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।


