पर्सा । वीरगंजको जसौलीमा आफ्नै श्रीमती हत्या गरेको आरोपमा श्रीमान सहित ई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जना रहेको प्रहरीले पुष्टी गरेको हो ।
दासले आफ्नै ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको वीरगंज प्रहरीले जनाएको छ । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
दासकी श्रीमती आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले रिंकुलाई करेन्ट लगाई हत्या गरेको खुल्न आएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा, अस्थाई प्रहरी पोष्ट उदयपुर घुर्मी र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले रिंकुको हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देखिएपछि शंका लागि दासलाई नियन्त्रणमा लिई सोधुपछ गर्ने क्रममा पर–पुरूषसँग लागेको आशंकामा करेन्ट लगाई हत्या गरेको स्विकार गरेको प्रहरीले जानकारी दिएको छ ।
हत्या पश्चात दासले आफ्नै भाई २८ वर्षीय भरतलाई ना. ३ च ६२४७ नम्बरको बोलेरो गाडी ल्याउन लगाई गाडीले मृतकको टाउकोमा किचेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
वारदातमा प्रयोग भएको सवारी साधानलाई वीरगंज महानगरपालिका–१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा प्रहरीले बरामद गर्न सफल भएको छ ।
घटनामा संलग्न भएको भन्दै भरतलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



