काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज मनोनयन दर्ता गर्नुे तालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले निकालेको तालिकाअनुसार मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ ।
मनोनयन दर्ताका लागि मात्रै ५१ हजार शुल्क तोकिएको छ । संसदीय दलको चुनावका सबै कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुनेछ ।
कांग्रेसमा संसदीय दल नेताका लागि सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र संस्थापनइतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने सम्भावना देखिएको छ ।
संस्थापनइतर समूहमा सहमति भएन भने नेता शेखर कोइरालाले पनि संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सक्ने स्रोतले जानकारी दिएको छ ।
संस्थापनइतर समूहबाट एक जना मात्रै उम्मेदवार तय गर्न आज बिहान ८ बजेदेखि लौनचौरस्थित एम्बास्डर होटलमा शेखर–गगनसहित उक्त समूहका नेताहरू छलफलमा जुटेका छन् ।
संस्थापन समूहबाट भने दल नेतामा देउवा मात्रै उम्मेदवार हुने सम्भावना छ । रामचन्द्र पौडेल र प्रकाशमान सिंहले दल नेतामा दाबी गरे पनि अहिले उनीहरू पछि हटेका छन् ।
कांग्रेसमा प्रतिनिधि सभातर्फ ८९ जना सांसद छन् । उनीहरूले नै बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गरेर दल नेता चयन गर्नेछन् ।
कांग्रेसमा दलको नेता हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ ।



