फाईल तस्बिर
मुग्लिन । आजदेखी नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । पुल निर्माणका लागि भित्तो काट्न गनुपर्ने भएका कारण उक्त सडक भएर आउजाउ गर्ने सवारी आवागमनलाई ४ घण्टा रोकिने भएको हो ।
पहिलो चरणमा १ महिनाका लागि दैनिक ४ घण्टा सडक बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।
मंगलबारदेखी सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । बन्दको समयमा भौगोलिकरूपमा कठिन मानिएको सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने काम हुने कार्कीले बताए ।
उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा ९ वटाको काम सम्पन्न भइसकेको छ । ४ वटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि बन्द गरेर काम गर्नु लागेको आयोजनाले जनाएको छ ।
आयोजनाले सकेसम्म उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न भनेको छ । यता जिल्ला प्रशासन कार्यालय चितवनले पनि सूचना जारी गर्दै उक्त समयमा बैकल्पिक राजमार्ग प्रयोग गरेर यात्रागर्न अनुरोध गरेको छ ।
उक्त समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारी साधनलाई भने अनुकूलता हेरी छोडिने पनि आयोजनाले जनााएको छ । नारायणगढ–मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।
नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ ।
काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ ।
काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने आयोजनाको सुचनामा भनेको छ ।


