काठमाण्डौं । जाडो बढे संगै नेपालमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरु देखिन थालेको छ । जाडोयाममा विशेष गरेर तराईमा यसको प्रभाव बढी देखिन थालेको छ । सित लहर र घाम नलाग्ने समस्याका कारण तराईमा रुघा खोकि, निमोनिया, दमदेखि हात खुट्टाका जोर्नी दुख्ने जस्ता विभिन्न समस्या बढ्दै जान थालेको भन्दै सचेत रहन सरकारले आग्रह गरेको हो ।
पुष महिना लागेसंगै चिसो बढ्दै गएको र घामको राप पनि कम हुदै गएकोले तराई क्षेत्रमा त्यस्ता समस्याहरु देखिन थालेको छ । तराईमा सित लहरको प्रभाव देखिन थाले संगै स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सित लहरका कारण दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक ४०० बिरामी उपचारका लागि आउने गरेका छन् ।
उनका अनुसार चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको चाप बढेको छ । गत मङ्सिरमा मात्रै ४ हजारभन्दा बढी बिरामी उपचारका लागि आएका थिए् । अस्पताल आउनेमा बढीजसो दम, निमोनिया र रुघाखोकीजस्ता मौसमी बिरामी भएको उनले बताइन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन डा अर्जुन भट्टले चिसो बढेपछि बिरामीको सङ्ख्या पनि बढेकाले चिसोबाट बच्न आग्रह गरे । चिसोमा बढीजस्तो दम, निमोनिया, प्रेसर र मृगौलाका बिरामीलाई समस्या हुने भएका कारण चिसोबाट बच्न मनतातो पानीका साथ झोलयुक्त पदार्थ खाने र न्यायो ठाउँमा बस्न पनि उनले आग्रह गरे ।




















