काठमाण्डौं । निर्वाचन आयोग राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आज प्रतिनिधि सभाको निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरेको छ । आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको निर्वाचन परिणम सहितको प्रतिवेदन पेश गरेको हो ।
आयोगको प्रतिवेदन बुझदै राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचन, २०७९ ले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको स्पष्ट पारे ।
लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गरेकामा उनले आयोगलाई धन्यवाद समेत दिएका थिए । साथै, निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई धन्यवाद दिए ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन पेश गर्दै निर्वाचनको सारसंक्षेप प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरू ईश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा.जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडी र सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलगायतको उपस्थिति रहेका थिए ।


