सर्लाही । चक्रघट्टाको भेल्हीमा आफ्नै भाउजुलाई कुटपिट गरेर हत्या गरिएको छ । जग्गाको विषयलाई लिएर कुटपिट गरी चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या भएको हो ।
हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने उनकै सहोदर देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई प्रहरीले पक्राउ गरेको छ ।
पुकार राय सहित उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
हत्या लगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीको टोलीले पुकार रायलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न जितेन्द्र र अनिता भने हाल फरार भएकोले उनीहरुको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।



