फाईल तस्बिर
काठमाण्डौँ । सत्तारूढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । आइतबार दिउसो २ः०० बजे हुने बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ भने गत निर्वाचनको समीक्षा हुने भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग पनि छलफल गरेर अघि बढ्न सकिने विषयमा छलफल भएको थियो ।
सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेको उनले जानकारुी दिए ।
माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको छ ।
आजको बैठकमा पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुने भएको हो ।




















