काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं हालै प्रतिनिधी सभा निर्वाचनमा निर्वाचित सदस्य रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाण्डौंलाई छानबिनका लागि पत्राचार गरेका हुन् ।
प्रहरी परिसर काठमाण्डौंका अनुसार लामिछानेको नागरिकताबारे प्रशासनले छानबिनका लागि पत्र पठाएको पुष्टी भएको छ ।
केही दिन अगाडी मात्र गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि भन्दै उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको हो ।
अमेरिकी पासपोर्ट त्यागेपछि रविले नेपाली नागरिकता लिने प्रक्रियामा त्रुटी रहेको भन्दै उजुरी परेको थियो । उसो त चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पनि उनको नागरिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको थियो ।
चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका लामिछानेले भने आफ्नो नागरिकताको विषय यसअघि नै समाधान भइरहेको दाबी गर्दै आएका छन् ।




















