काठमाण्डौं । नेपालमा एड्सको नाममा मात्रै १ वर्षमा २ अर्बभन्दा बढी खर्च भएको पाईएको छ । गत वर्ष मात्र राष्ट्रिय एचआईभी कार्यक्रमका लागि नेपालमा २ अर्ब २९ करोड भन्दा बडी खर्च भएको पाइएको हो ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२१ मा मात्रै नेपालमा १ करोड ७५ लाख अमेरिकी डलर अर्थात २ अर्ब २९ करोड ३७ लाख ६९ हजार ७५० नेपाली रुपैयाँ राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको छ ।
कुल खर्चको २४ प्रतिशत भने नेपाल सरकारले खर्च गरेको थियो । जस अन्तरर्गत ५५ करोड ५ लाख ४ हजार ५०० रुपैयाँ नेपाल सरकारले राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च गरेको छ । अन्य बाँकी रकम भने दातृ निकायले उपलब्ध गराएका हो ।
नेपालबाट एड्स अन्त्यका लागि एचआईभी कार्यक्रममा अर्बौ रकम खर्च भएतापनि गत वर्ष ५१० जनाको एचआईभी संक्रमितका कारण ज्यान गएको थियो ।
केन्द्रले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार सन् २०२१ मा मात्रै ५१० जना व्यक्तिको एड्सको कारण मृत्यु भएको छ । सन् २०२१ को अन्त्यसम्ममा नेपालमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ ।
नेपालमा हरेक दिन २ जना मानिस एचआईभी संक्रमित हुने गरेको केन्द्रले जनाएको छ । सन् २०२१ मा १४ वर्षसम्मका ४५ जना बालबालिकामा एचआईभी संक्रमण देखिएको थियो ।
केन्द्रका अनुसार सन् २०२१ को अन्त्यसम्म नेपालमा २१ हजार ७२३ जना संक्रमितले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् । केन्द्रकै अनुसार नेपालभर ३० हजार संक्रमित रहेको अनुमान गरिएको छ ।
तथ्यांकका आधारमा हेर्दा अझै ८ हजार २७७ जना संक्रमित कहाँ छन् भन्ने विषयमा केन्द्र नै बेखबर छ ।
नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५–९५–९५ अर्थात ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार अर्थात भाइरल लोड न्यून भएको हुने र एचआईभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ ।
सरकारले हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टीरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराएको छ ।


