बैतडी । बैतडीको थुमस्थित सडकमा आज भएको जीप दुर्घटनामा परी ४ जना प्रहरीले ज्यान गुमाएका छन् । दुर्घटनामा अन्य ९ जना घाईते भएको बैतडी प्रहरीले जनाएको छ ।
पाटन नगरपालिका–४ थुमस्थित सडकमा से. १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवानहरू रमेश सिंह साउद, लोकबहादुर बाठामगर र दिर्घ बिष्ट गरी ४ जना प्रहरी कर्मचारीको निधन भएको हो ।
आइतबार सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षार्थ खटिएर बैतडीको गोठालापानी मतगणनास्थलमा मतपेटिका पुर्याई ईलाका प्रहरी कार्यालय पाटनतर्फ जाँदै गरेको अवस्थामा उक्त जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
जीप दुर्घटना हुदा गम्भीर घाइते भएका चारै जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारको क्रममा निधन भएको हो ।
जिपमा १२ जना प्रहरी कर्मचारी र जिप चालकसहित १३ जना सवार रहेकोमा अन्य ९ जना घाइते भएका छन् । गम्भीर घाइते अवस्थामा रहेका ४ जना प्रहरी कर्मचारी र जिपका चालक गरी ५ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालगंज लगि कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अन्य ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बैतडी प्रहरीले जनाएको छ ।




















