काठमाण्डौं । आज मध्यराति १२ बजेपछि मौन अवधि अर्थात स्थिर समय सुरू हुने भएको छ । मौन अवधिमा उम्मेदवारहरू र दलहरूले प्रचारप्रसारलगायत काम गर्न पाउने छैनन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आज राती १२ बजे अघिसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् ।
निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय तोकेको थियो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थिर समय आज राति १२ बजेदेखि सुरू हुने जानकारी दिए । उनका अनुसार निर्वाचन आचारसंहिताअनुसार स्थिर समय लागु भएका बेला चुनावी प्रचार गर्न पाइँदैन ।
निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठीलगायत गर्न पाइँदैन,’ उनले भने, ‘मतदान हुने दिनभन्दा ४८ घन्टा अघि मतदान स्थलभन्दा तीन सय मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनुपर्छ ।
’सामाजिक सञ्जाल, अनलाइन वा छापाबाट उम्मेदवारका प्रचारप्रसार गर्न नपाइने उनले बताए । ‘सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री हटाउनुपर्छ । लाइक वा सेयर गर्न पाइँदैन,’ उनले भने ।
आयोगले मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय तोकेको छ ।


