काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम क्षेत्रमा गएराति गएको भूकम्पमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । साथै, घाइतेको उद्धार, राहत तथा पुनःस्थापना र प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न अध्यक्ष प्रचण्डले संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन–‘प्राकृतिक विपत्तिको यो दुखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपील गर्न चाहन्छु ।’
अध्यक्ष प्रचण्डले भूकम्पबाट प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
सुदूरपश्चिमको डोटी जिल्लालाई केन्द्रबिन्दु बनाएर गएराती ६.६ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पका कारण घरहरू भत्कँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।




















