प्युठान । प्युठानमा गएराती भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परी प्युठान नगरपालिका–५ पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुशील थापामगरका अनुसार प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु. १ ज ३७०७ नम्बरको फोर्स जिप बुधबार बिहान करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका घाईते भएको प्हरीले जनाएको छ ।
गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल लगिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ ।
जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । घटनास्थलमा नेपाल प्रहरी, स्थानीय र जनप्रतिनिधिहरु लगायतले उद्धार कार्यमा सहयोग गरेका थिए ।
चालक प्युठान नगरपालिका–९ का २३ वर्षीय बिनोद केएम भने सामान्य घाइते भएको र अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।




















