डोटी । गएराती गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मंगलबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५।७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६।६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
प्रहरी नायब उपरीक्षक भोलाप्रसाद भट्टका अनुसार जिल्ला भरीका सबै रेकर्ड आइ नसकेको र मृत्तकको संख्या बढ्न सक्ने छ । उनका अनुसार भूकम्पमा परी ज्यान गुमाउनेहरुमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा छन् ।
त्यस्तै गरी सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घर भत्किदा पुरिएर मृत्यु भएको हो ।
भूकम्पले भत्किएर पुरीएका ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ । सोही भूकम्पमा परी त्यसै वडाका अन्य ५ जना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।
उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ पनि प्रहरीले जनाएको छ ।




















