रोल्पा । जिल्लाको पोखरी गाउँमा आफ्नै छोरो पिर्काले हानेर बुवाको हत्या गरेका छन् । त्रिबेणी गाउँपालिका–४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्तिले आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा संदिपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगत्तै प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


