तनहुँ । तनहुँको ब्यास नगरपालिकाबाट लागु औषध सहित श्रीमान श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्यास नगरपालिका–३ बस्ने २६ वर्षीय संतोष शाही र उनकी श्रीमती २३ वर्षीया रुपकला परियार शाही रहेको तनहँु प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट १४३ ट्याब्लेट सहित गएराति प्रहरीले पक्राउ गरेको हो ।
संतोष, रुपकला र सोही ठाउँ बस्ने ३४ वर्षीय टेकबहादुर बिकबिच झगडा भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई शंका लागि जाँच गर्ने क्रममा रुपकलाको साथबाट उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको तनहुँ प्रहरीले जानकारी दिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



