फाईल तस्बिर
काठमाण्डौं । काठमाण्डौं जिल्ला अदालतले नाबालिगमाथि भएको बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरी वृत्त गौशालाले सन्दीपमाथि लागेको आरोपको अनुसन्धान नसकिएको भन्दै थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेकामा २ दिन थप भएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए ।
सन्दीपविरुद्धको अनुसन्धान सकिएपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौं समक्ष प्रतिवेदन पेस गर्नेछ । त्यसपछि थुनछेकको बहस सुरु हुनेछ ।
असोजमा २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको प्रहरीले पहिलो पटक २४ असोजमा ७ दिनको म्याद थप गरेको थियो । दोस्रो पटक २७ असोजमा ५ दिनको म्याद थप गरेको थियो । भने गत बुधबार उनलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि ५ भदौमा काठमाण्डौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।
प्रहरी वृत्त गौशालामा २१ भदौमा उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो ।


