एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जनाको मृत्यु भएको छ ।
यहाँका सुरक्षा अधिकारीका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् ।
नाइजेरियाली सेनाको समन्वयमा यहाँका सबै सुरक्षा निकायहरूले बोको हरामका लडाकुहरूमाथि सो कारबाही गरेका हुन् । सो कारबाहीका क्रममा अरू ७० जना लडाका पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
यहाँको सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार उत्तर पूर्वी क्षेत्रहरुमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा सम्पूर्ण सुरक्षा निकायले एकै पटक कारबाही प्रक्रियालाई अघि सारेको हो ।
यसक्रममा बोको हरामका केही लडाकु घाइते भएका छन् भने ३०० भन्दा बढीले आत्मसमर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नाकको एक समूहले आतङ्क मच्चाइरहेको छ ।




















