बाँके । मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।
मुख्यगरी नरैनापुरको वडा नं १ बनिया गाँउ, ४ को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि जनजीवन प्रभावित बनेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
गाँउपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरु जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिए । उनले भने,“विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ यकिन तथ्याङ्क सकंलन गर्न वडा अध्यक्ष सहित आफू टोल, टोलको अनुगमन गरी रहेको छु ।”
वडा नं। ४ का अध्यक्ष मनोज शर्माले भने, घोडदौरीया गाँउमा १० वटा घरमा क्षति पुगेको बताउदै निरन्तर परीरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेको सचेत हुन स्थानीयहरुलाई अपिल गरेको बताए ।
वडा नं ६ का अध्यक्ष प्रेम मौर्यले भने कतिपय घरमा खोलाको पानी पसिसकेको अवस्था छ । समयमा पानी नपरे पछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तिमा पस्न थालेपछि थप समस्या भएको उनले गुनासो गरे ।
घरभित्रै पानी पसेपछि स्थानीयहरुले घरदेखि माथि पाल टाँगेर वस्न बाध्य भएका छन् । घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर वस्नु परेको स्थानिय लियाकत साईले बताए ।
यता नरैनापुर गाँउपालिका अध्यक्ष शाहले निरन्तर पानी परीरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगी सकेको जानकरी दिए ।


