फाईल तस्बिर
चितवन । उपचारका क्रममा सोमबार बिरामीको मृत्यु भएपछि उनका आफन्तले आज चितवन मेडिकल कलेज (सिएमसी) तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो ।
मृत्यु पश्चात मंगलबार अस्पतालमा जम्मा भएका आफन्त तथा स्थानीले अस्पतालमा तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न भएको आरोपमा चितवन प्रहरीले १३ जनलाई नियन्त्रणमा लिएको छ ।
कुँवरको प्याङ्क्रियाजमा समस्या देखिएको भन्दै आफन्तले सोमबार बिहान अस्पताल भर्ना गराएका थिए । अस्पताल भर्ना भएको कुवरको सोमबार साँझ नै मृत्यु भएको प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएको र बिरामीको विभिन्न अंगप्रत्यङ्गहरूले काम नगरेका कारण मृत्यु भएको हो ।
मंगलबार दिउँसो साढे १ बजेतिर मृत्तकका आफन्त र स्थायिनले अस्पताल तोडफोड गरेको अस्पताल प्रशासनले जानकारी दिएको हो । उनीहरुले चिकित्सकले लापरबाही गरेका कारणले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।
अस्पतालको आईसीयू तोडफोड भएको चितवन जिल्ला प्रहरीले जानकारी दिएको छ ।


