गोरखा । उत्तरी गोरखाको नामरुङमा लगाईएको बिदेशी स्याउ उत्पादन पछि बजारमा आउन सुरु भएको छ । चुमनुब्री गाउँपालिका ४ नामरुङ्गको पोर भन्ने स्थानमा ईटालीबाट आयात गरीएको स्याउले उत्पादन दिन थाले पछि अहिले देशको विभिन्न शहरमा बिक्री गर्न थालिएको छ ।
चुमनुब्री कृषक समूहले ३ बर्ष अगाडी इटालिबाट ल्याईएको गोल्डन, फुजी, गाला, रेड डेलीसेस र किंग डेलिसेसका बिरुवाले उत्पादन दिन थालेको सञ्चालक लाक्पा डुन्डुप लामाले बताए । ‘तिन बर्ष अगाडी रोपेको विदेशी स्याउले उत्पादन दिन थालेको’ भन्दै सञ्चालक लामाले भने ‘अहिले उत्पादित स्याउ राजधानीको विभिन्न स्थान देखी चितवन र गोरखामा समेत बिक्री गर्न थालिएको छ ।’ उनले भने ‘यो बर्ष २१ हजार केजी भन्दा बढी स्याउ उत्पादन हुन्छ ।’
स्थानिय लामा सहित ७ जनाको टोलीले नामरुङको पोर भन्ने स्थानमा रहेको जमिन भाडामा लिएर इटालियन स्याउ रोपेका हुन् । प्रदेश सरकारको ७० प्रति अनुदानमा पहिलो लटमा उक्त स्थानमा ४ हजार ३७० बोट स्याउ रोपिएको थियो ।
जस मध्ये ११४ वटा बोट मरे पनि अरु सबै बोट हुर्किए फल दिन थालेको लामाले बताए । लामाको समूहले यस पटक पनि इटालीबाट सोही जातका बेर्नाहरु ल्याएर खेती बिस्तार गरेका छन् । यो बर्ष ८ हजार बोट स्याउका बेर्ना रोपिएको छ ।

समूहले यस पटक सहित कुल ३०० रोपनी क्षेत्रफलमा स्याउ खेती बिस्तार गर्न सफल भएको छ ।
०७६ सालमा स्याउखेती गरेको समूहको ७७ सालमा नै स्याउ उत्पादन हुने भएता पनि उनीहरुले पहिलो बर्ष उत्पादन नलिन स्याउको फुल नै नष्ट गरिदिएका थिए । ०७८ सालमा ८ हजार केजी स्याउ उत्पादन भएको र त्यसबाट करिब १९ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका थिए ।

यो बर्ष भने समूहले पुराना ४ हजार ३७० बोटबाट कम्तीमा २१ हजार केजी स्याउ हुने अनुमान गरेको छ । ‘सामान्य पनि एउटा बोटमा ५ केजीदेखी ८ केजीसम्म स्याउ फलेको छ’ सञ्चालक मध्येका लामाले भने ‘फल त धेरै फल्थ्यो तर हामीले बोटले धान्दैन भनेर फुल फुल्दैमा टिपेर फाल्यौ ।’

यो बर्ष समूहले स्याउ बिक्रीबाट मात्रै १ करोट ५० लाख आम्दानी लिने तरर्खरमा रहेका छन् । गत बर्ष उत्पादन भएको मध्ये ७ हजार ५०० केजी स्याउ स्थानिय स्तरमा नै प्रति केजी २५० देखी ३५० रुपैयाँमा बिक्री गरेका थिए ।
बाँकी रहेको ५०० केजी स्याउको भने समूहले सुकुटी, एप्पल स्लाइडर, वाईन र केक बनाएर बिक्री गरेका थिए । समूहले स्याउ फार्म भित्रै रिर्सोट समेत सञ्चालन गरेकोले रिर्सोटमा बस्न आउने नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गरेर सुकुटी, एप्पल स्लाइडर, वाईन र केक बनाएको हो ।

उक्त क्षेत्रमा स्थानिय जातको स्याउ उत्पादन हुदै आएको भएता पनि बिदेशीबाट आयात गरेर फरक प्रजातीको स्याउ खेती गरिएको यो नै पहिलो पटक हो ।

फार्म भित्र रहेका गोल्डन र गाला जातीको स्याउ उत्पादन भएर पनि बजारमा बिक्रीको लागि गई सकेको किङ रेड डेलिसेस, रेड डेलिसेस र फुजी भने अबको केही दिनमा नै उत्पादन हुने र बजारमा बिक्रीका लागि लाने तयारी समूहले गरेको छ ।
उत्तरी गोरखा सडक सञ्जालले नछोएको कारण सबै स्याउ हेली मार्फत ढुवानी गरिने भएको छ । यस पटक भने ति स्याउहरु बजारमा ५०० रुपैयाँदेखी ८०० रुपैयाँसम्म बिक्री भई रहेका छन् । उपत्यकामा रहेको ठुला ब्यापारीक मल मार्फत अहिले प्रतिकेजी ८०० रुपैयाँसम्म बिक्री भएको लामाले जानकारी दिए ।

तर उनले गोरखा बजारमा सोही स्याउ प्रति केजी ५०० रुपैयाँमा बिक्री गर्दै आएका छन् । लामाको समूहले उत्पादन गरेको सुकुटी भने प्रति किलो ७ हजारमा स्थानिय स्तरमा नै बिक्री भईरहेको छ ।

स्याउलाई बन्यजन्तुबाट जोगाउन तारबार गरिएको छ । स्याउ फार्म भित्र अहिले दैनिक १८ जनाले नियमीत रुपमा काम गर्दै आएको छ ।
यातायातले नछोएको उत्त स्थानमा उत्पादित सबै स्याउ खच्चड वा हेली मार्फत मात्र ढुवानी गर्न सकिन्छ । बेनीघाट–आरुघाट–लार्के सडकले छुने उत्त स्थानमा सडक बनेको खण्डमा यातायातबाट ढुवानी गर्न सहज हुने छ ।

स्याउ ढुवानीका लागि लामाको समूहले बारी भित्रै हेलिप्याड निर्माण गरिएको छ । त्यस्तै गरी अहिले स्याउलाई जोगाइ राख्नकालागि कोल्डस्टोरको समेत निर्माण भई रहेको छ ।
समूहले स्याउ खेतीकालागी अहिलेसम्म २ करोड भन्दा बढी खर्चिसकेको जनाएको छ ।




