काठमाण्डौं । सरकारले व्याकुल माइलालाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला)लाई यस अघि मासिक २५ हजार उपलब्ध गराउदै आएको थियो ।
असोज ७ गते बसेको मन्त्रीपरिषद्को निर्णयले संस्कृतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ जना नर्स उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले गरेका निर्णयहरु :
-थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एण्ड इन्ट्रीगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई स्वीकृत दिने
-राष्ट्रिय शतर्कता केन्द्र शतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत
-क्यानडाको आटवामा २०७९, असोज १९ गतेदेखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृत
-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष ०७९–०८० का लागि राजपत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने
-प्राइभेट फर्म रजिस्ट्रेशन चौथो संशोधन नियमावली २०७९ स्वीकृत
-दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
-चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति
-माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको प्रशारण लाइनको आरओडब्ल्यू र टावर ब्यांक संरचनाहरु निर्माण गर्नका लागि सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ११ मा रहेको राष्ट्रिय वन भित्रको ५.८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत
-विभिन्न स्थानीय तहहरुलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय
-विज्ञापन बोर्डका लागि आर्थिक वर्ष ०७९–०८० को लागि अधिकृत स्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत
-सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्युनिकरण गरी नागरिकको आगमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारी साधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता सवारीको गति, टाइम कार्डको अवलम्वन लगायतका विषयमा अनुगमन, नियमन, सुरपरीवेक्षण, निर्देशन र समन्वयगर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति
गठन


