धनकुटा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित १५० जनाले आजबाट माओवादी छाडेका छन् । भण्डारीलाई उम्मेदवार नबनाएको भन्दै केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र धनकुटा जिल्लाका १५० सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र जिल्ला सदस्यहरुले राजीनामा दिदै माओावादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
आसन्न प्रतिनिधिसभा सदस्यका आकांक्षी भण्डारीलाई गठबन्धन दल र पार्टीले उम्मेदवार चयन नगरी उपेक्षा गरेकोले आफूहरुले यो कदम चालेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । गठबन्धन र पार्टीले हामे कुरा सुनेन, धेरै कार्यकर्तामा निराशा छाएको भन्दै पार्टीमा न्याय र विधि पनि अत्यन्त भईसकेकोले राजिनामा दिने घोषणा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
भण्डारीले ११ दिन अगाडि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएको बताए । भण्डारीकै अगुवाइमा जिल्लामा स्वतन्त्र अभियान थालनी गर्ने घोषणा गरिएको छ ।
२०६४ को संविधानसभा निर्वाचनमा जितेका भण्डारी प्रभावशाली युवा नेता मानिएकाले अभियानले अर्थ राख्ने पार्टी त्यागेकी केन्द्रीय सदस्य विश्वकर्माको भनाइ थियो ।


