काठमाण्डौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुलाई सरकारी निवास बालुवाटारमा नै नजरबन्दमा राखेको आरोप लगाएका छन् ।
जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासको गेटमै सुरक्षाकर्मी खटाएर आफूलाई नजरबन्दमा राखिएको जानकारी दिएका हुन् ।
‘सरकारले मलाई बालुवाटारमै नजरबन्दमा राखेको छ । गेटमा प्रहरी खटाइएको छ । मेरो दृष्टिकोणमा यो नजरबन्द नै हो,’ उनले भने ।
उनले आफू मंसिर २७ सम्मै प्रधानन्यायाधीशकै रूपमा रहने जिकिर गरे । उक्त दिनसम्म आफूले सरकारी निवास नछाड्ने समेत बताए । ‘मंसिर २७ गतेसम्म मेरो कार्यकाल छ । सरकारले बलजफ्ति ननिकालेसम्म त म क्वार्टरमै बस्छु,’ जबराले भने ।
महाभियोग निष्क्रिय भइसकेपछि पनि हाजिर हुन नदिएर सरकारले गैरसंवैधानिक काम गरेको शमशेरले आरोप लगाए । ‘महाभियोग निष्क्रिय भइसकेपछि पनि हाजिर हुन जान दिइएन । यो सरकारलाई बुद्धि पलाउनुपर्छ,’ उनले भने ।
उनले आफ्नो कानूनी र मौलिक हक हनन् भएको गुनासो समेत गरे । ‘म पनि नगरिक हो । मेरो पनि मौलिक हक छ । कानूनी हक छ । सरकारले संविधानलाई मान्दिनँ भन्छ भने मेरो भन्नु केही छैन,’ उनले थपे ।
उनले आफू संविधानको दायराभन्दा बाहिर नजाने पनि बताए ।


