काठमाण्डौं । नेपालमा करिब १० हजार मानिसमा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि भाद्र २७ गतेसम्ममा देशभर ९ हजार ८३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४४० जनामा डेंगु संक्रमण भएको छ । यस्तै, लुम्बिनीमा १ हजार ३५६, प्रदेश १ मा ३२०, सुदूरपश्चिममा २७१, गण्डकीमा २०२, मधेश प्रदेशमा १८० र कर्णाली प्रदेशमा ६६ जनामा डेंगु संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै संचालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्न आग्रह गरेको छ ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १०ः०० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु ुखोजौ र नष्ट गरौु भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।


