काठमाण्डौं । भारतलाई ३–१ ले हराउँदै नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले १–१ गोल गरे थिए ।
खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेको थियो ।
खेलको ४५ औं मिनेटमा सरोजले, ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को गोल अन्तरमा जित दिलाएका थिए ।
समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
वी समूहमा नै रहेको भूटान भने नेपाल र भारत दुवैसँग पराजित भएर बाहिरिएको छ ।




















