सन्दर्भ तस्बिर
एजेन्सी । अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार पश्चिमी देशको प्रतिबन्धका कारण रुसले उत्तर कोरियाबाट हतियार किन्न बाध्य भएको छ ।
यसै वर्षको फेब्रुअरीमा रुसले छिमेकी राष्ट्र युक्रेनमा आक्रमण गरेको थियो । त्यसपछि पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका थिए । यस कारणले गर्दा रुसले हतियारको लागि उत्तर कोरियासँग भर परेको अमेरिकी अखबारहरुले लेखेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार रुसले उत्तर कोरियाबाट धेरै हतियार किनेको छ । युक्रेनसँगको युद्ध लामो समयसम्म रह्यो भने रुसले उत्तर कोरियाबाट थप हतियार किन्ने अमेरिकी अधिकारीले बताएको पनि टाइम्सले लेखेको छ ।
रसियाले गत हप्ता मात्रै पनि इरानबाट ड्रोनहरु प्राप्त गरेको पनि अखबारहरुले लेखेको छ । पश्चिमी देशहरूले इरान र उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाएका छन् । तर राष्ट्रपति पुटिनले युक्रेनमा आक्रमण गरेपछि यी दुई देशले रुससँगको सम्बन्धलाई मजबुत बनाउने प्रयास गरिरहेका छन् ।
उत्तर कोरियाका तानाशाह किम जोङ उनले युक्रेनमा रुसको आक्रमणलाई उचित ठहर गर्दै त्यसको लागि अमेरिकालाई दोष दिइरहेका छन् । उनका अनुसार अमेरिकाको विस्तारवादी नीतिका कारण यस्तो भएको हो ।
गत महिना, उत्तर कोरियाले पूर्वी युक्रेनको दुई क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिएको थियो ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार पुटिन उत्तर कोरियासँगको सम्बन्धलाई थप विस्तार गर्न चाहन्छन् ।
रुसले खरिद गरेको हतियारको संख्या स्पष्ट नभएता पनि एक अमेरिकी अधिकारीले रुसले उत्तर कोरियाबाट हतियार खरिद गरेको विश्लेषण गरेका छन् ।


