काठमाण्डौं । टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का ३२ वर्षीय रामचन्द्र रावल, सोही स्थानका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४ टाकुरेका ३२ वर्षीय पुष्कर काफ्ले रहेको प्रहरील् पुष्टी गरेको हो ।
उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा विक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले पहिले मोटरसाइकल चालकसँग चिनजान गर्ने र राम्रो सम्बन्ध भएपछि टिकटक बनाउन भन्दै मोटरसाइकल मागेर फरार हुने गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।
चोरी गरी ल्याएको मोटरसाइकलहरू सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ स्थित रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।


