काठमाण्डौं । उपत्यकाको तिनै जिल्लामा फेरि डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको हो ।
महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार भाद्र १९ गतेसम्ममा ५ हजार २९ जनामा डेंगु भएको पुष्टि भइसकेको छ । सो अवधिसम्ममा डेंगु पुष्टि भएका ५ हजार २९ जनामध्ये २ हजार ८१९ जना काठमाण्डौं, ललितपुर र भक्तपुरका छन् ।
महाशाखाको तथ्यांक अनुसार २०२२ को मे महिनामा काठमाण्डौंमा १ जनामा मात्र डेंगु पुष्टि भएको थियो । तर जुनमा भने काठमाण्डौंमा ३५, ललितपुरमा ९९ र भक्तपुरमा ६ जनामा डेंगु देखिएको थियो ।
जुनदेखि बढ्न थालेको डेंगु अगष्ट र सेप्टेम्बरमा अझै बढेको तथ्यांकले देखाउँछ । अगष्टमा काठमाण्डौंमा ७२७, ललितपुरमा १ हजार ५५८ र भक्तपुरमा ८६ जनामा डेंगु पुष्टि भएको छ । यस्तै सेप्टेम्बरको ४ दिनमा मात्रै काठमाण्डौंमा १२४, ललितपुरमा १७४ र भक्तपुरमा ७ जना गरी ३०५ जनामा डेंगु पुष्टि भइसकेको छ ।
महाशाखाका अनुसार जनवरीदेखि सेम्टेम्बरसम्ममा ७५ जिल्लामा डेंगु पुष्टि भइसकेको छ। मुस्ताङ र हुम्लामा भने डेंगु देखिएको छैन ।
७५ जिल्लामध्ये १० जिल्लामा ५० जना भन्दा बढीमा डेंगु पुष्टि भएको छ । जनवरीदेखि सेप्टेम्बर ४ सम्ममा १० जिल्लामा मात्र ४ हजार २३७ जनामा डेंगु पुष्टि भएको तथ्यांकमा उल्लेख गरिएको छ । जसमा सबैभन्दा धेरै ललितपुरमा देएको छ ।
तथ्यांक अनुसार मकवानपुरमा ५९८, रुपन्देहीमा ४३९, धादिङमा १११, तेह्रथुममा ८८, सिन्धुलीमा ६६, गुल्मीमा ५९ र संखुवासभामा ५७ जनामा डेंगु पुष्टि भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए ।
सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको मन्त्रालयले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार सन् २००४ देखि सन् २०२२ को सप्टेम्बर ४ सम्ममा ३० हजार ९९६ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगु प्रभावित जिल्ला तथा स्थानीय तहहरुमा डेंगुको लार्भा नष्ट तथा सचेतनामुलक गतिविधि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति संक्रमित
- सुदुरपश्चिम ९५
- कर्णाली ३६
- लुम्बिनी ७७०
- गण्डकी १०१
- बाग्मती ३७२७
- मधेश प्रदेश ७९
- प्रदेश १ मा २२१
के हो डेंगु ?, कसरी बच्ने ?
डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टेले प्राय: दिउँसोको समयमा टोक्छ । यो लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि सक्रिय हुने गर्छ ।
डेंगुको लक्षण
- एक्कासी उच्च ज्वरो आउने
- ज्वरो ५ देखि ७ दिनसम्म रहिरहने
- अत्यधिक टाउको दुख्ने
- आँखाको गेडी दुख्ने
- हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने
- शरीरमा बिमिरा आउने
- रिंगटा लाग्ने
- वाकवाकी लाग्ने, बान्ता हुने
डेंगुका गम्भीर लक्षण
- लगातार बान्ता हुने
- बान्तामा रगत देखा पर्ने
- धेरै पेट दुख्ने
- श्वासप्रश्वासमा समस्या आउने
- नाक वा गिजाबाट रगत बग्ने
- रक्तश्राव हुने
- बेहोस हुने
बच्ने उपाय
- पूरा शरीर ढाकिने गरी कपडा लगाउने
- लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने
- सुत्दा झुलको प्रयोग गर्ने
- झ्याल(ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने
- लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने।
डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फूल पार्छ । पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकी लगायत पानी जम्ने भाँडा तथा स्थानहरुमा यो लामखुट्टेले फूल पार्छ ।
डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरुले सुझाव दिएका छन् ।




















