एजेन्सी । भारतको बराबंकी जिल्लामा नेपाली बोकेर गएको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको भारतीय प्रहरीले जनाएको छ । घटनाकाे पूर्ण विवरणा भने आउन बाँकी छ ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो । सडक किनारामा रोकेर टायर फेर्दै गरेको बसलाई अचानक ट्रकले ठक्कर दिएको भारतीय सञ्चार माध्यामले भनेको छ ।
टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोवा जाँदै गर्दा युपी ९३ बिटि ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडिबाट ट्रकले ठक्कर दिएको हो ।
बसमा करिब ६० जना नेपाली रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।


