काठमाण्डौं । उत्तरी गोरखाको सामागाउँ निवासी धावा घ्याल्चेन पुर्पक्षका लागि सुन्धारा स्थित कारागार चलान भएका छन् । उनी साउन १८ गते काठमाण्डौ महानगरपालिका–६ को भृकुटी चोकबाट स्रोत नखुलेको ३२ लाख ५० हजार सहित पक्राउ परेका थिए ।
प्रहरी प्रभाग कपनबाट प्रहरी अधिकृतसहित खटिएको प्रहरी चेकिङका क्रममा उनले प्रयोग गर्दै आएको बा. ९९ प ७२०४ नम्बरको एनएस मोटरसाइकलमा सवार घ्याल्चेनको साथबाट ताइवानबाट हुण्डीमार्फत प्राप्त गरेको उक्त रकम फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।
काठमाण्डौं महानगरपालीका–६ तीनचुली बगला मार्ग बस्ने बर्ष २४ को घ्याल्चेन नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा आफू बस्ने डेरा कोठामा थप रकम राखेको भन्ने बयानका आधारमा प्रहरी बृत्त बौद्ध र प्रभाग कपनको संयुक्त प्रहरी टोलीले डेरामा खानतलासी गर्दा थप नेपाली रुपैयाँ १७ लाख ५० हजार फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीबाट कुल ४९ लाख ५० हजार ५० रुपैयाँ फेला पारी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएकोमा अदालतको भाद्र १३ गते ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कसूर मुद्दामा’ घ्याल्चेनलाई पुर्पक्षको लागी कारागार चलान गर्ने आदेश दिए लगत्तै सुन्धारा स्थित कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको हो ।



