झापा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई झापा प्रहरीले करिब १३ बर्ष पछि पक्राउ गर्न सफल भएको छ । शिवसताक्षी नगरपालिका–८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको २०६३ असोज ३ गतेको फैसलाले जन्म कैद ठहर भएको र पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो ।
प्रतिवादी लावतीले उक्त मुद्दामा १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरी सकेका थिए भने १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए । उनलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरीको टोलीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेका लावतीलाई कैद भुक्तानको लागि जिल्ला कारागार चन्द्रगढी झापामा चलाउन गरिएको छ ।




















