काठमाण्डौं । सामाजिक सञ्जाल भाइबर मार्फत् नाबालिकालाई दुःख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाण्डौं महानगरपालिका–६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई प्रहरीले पक्राउ गरेको छ ।
राजाले नाबालिकाको तस्वीर ईडिट गरी बनाएको अश्लिल भिडियो भाइबर मार्फत् पठाई डर त्रास देखाई नाजायज फाईदा लिन खोजेको र उद्देश्य पुरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरीदिने भनि नाबालिकालाई मानसिक यातना तथा दुःख हैरानी दिएको भनि परेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी सामाजिक सञ्जाल ईन्सटाग्राम तथा बिगो मार्फत् महिलालाई ब्ल्याकमेल गरी मानसिक यातना तथा दुःख हैरानी दिएको अभियोगमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका–४ घर भई काठमाण्डौं महानगरपालिका–६ बौद्ध भृकुटीचोक बस्ने ३२ वर्षीय जेम्स तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ईन्सटाग्राम तथा बिगो मार्फत् ती महिलालाई विभिन्न प्रलोभन देखाई अश्लिलता प्रदर्शन गर्न बाध्य पारी सोको स्क्रिन सट लिई आर्थिक लाभका लागि सामाजिक सञ्जालमा प्रसारण गरीदिने भन्दै ब्ल्याकमेल, मानसिक यातना तथा दुःख हैरानी दिने गरेका कारण जेम्सलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जना उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाण्डौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



