काठमाण्डौं । ईन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दि गाउँपालिका–१ भर्ते ठेगाना भएका ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन व्यूरोको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
अधिकारीलाई ईन्टरपोल मकाउको समन्वयमा मकाउमा पक्राउ गरी नेपाल पठाएको प्रहरीले जनाएको छ । मकाउ प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखालाई बुझाएको हो ।
अधिकारीले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने गरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाईदिने भनी पीडितहरू मार्फत् २५–२५ सय डलर लिन सफल भएका थिए । पासपोर्ट समेत लिएका उनले ति महिलाहरुलाई दुबईमा राखेको र दुबईबाट लिविया हुँदै ईटाली लाने भनी पीडितहरूबाट पुनः ३ लाख रूपैयाँ आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाईका थिए ।
लिविया पुरयाइएका ति महिलाहरु शरणार्थी क्याममा राखिएको अवस्थामा लिवियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, ईजिप्टस्थित नेपाली राजदुतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याईएको थियो ।
पक्राउ परेका अधिकारीलाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन व्यूरोमा बुझाइएको छ ।




















