गोरखा । डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ ।
डेंगु भए पछि ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु, वाकवाकी लाग्नु यसका लक्षणहरु हुन् ।
निरन्तर बान्ता हुनु, पेट असाध्यै दुख्नु, रक्तस्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलोजोको आकार बढ्नु खतराका संकेतहरु हुन् ।
यो समय डेंगु लाग्ने समय पनि हो । केही समय यता गाेरखामा पनि यसका बिरामीहरु बढन थालेकाे स्वास्थ्य कार्यालय गाेरखाले जनाएकाे छ । त्यसैले यसबाट बच्नु सबै भन्दा उत्तम उपाए हो ।
डेंगुबाट कसरी जोगिने त ?
- लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने
- शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउने
- घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने
- बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
- घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
- खाल्डा खुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
- खाली भाँडाकुडा घोप्टाएर राख्ने
- पानीको ट्यांकी पुरै खाली गरेर सफा गरिरहने
- कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने।




















