काठमाण्डौं । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा ४ र न्युजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ संक्रमितको सङ्ख्या लगातार घटेको छ । मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा २ हजार २४४ नयाँ बिरामी थपिएका बताएका छन् ।
एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल न्युजिल्याण्डमा कोभिड–१९ संक्रमितको सङ्ख्या १७ लाख २४ हजार ७२४ रहेको छ भने संक्रमणबाट १ हजार ८९३ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार ४ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार २१० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८० हजार २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । मङ्गलबार एकै दिन ७५ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा १ लाख ३ हजार ९६१ जना नयाँ संक्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको सङ्ख्या २ करोड ३२ लाख ४६ हजार ३८९ पुगेको छ ।
सोमबारको तुलनामा मङ्गलबार भारतमा पनि कोरोनाका बिरामी बढेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार ७ हजार २३१ जनामा कोभिड–१९ पुष्टि भएको जनाएको छ । नयाँ बिरामी थपिएसँगै देशभरका संक्रमितको सङ्ख्या ४ करोड ४४ लाख २८ हजार ३९३ पुगेको छ । मङ्गलबार संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ । महामारी प्रारम्भ भएयता भारतमा कोरोना लागेर ५ लाख २७ हजार ८७४ जनाको ज्यान गइसकेको छ ।


