एजेन्सी । अमेरिकामा भिगन खाना मात्र खुवाएर आफ्नो सानो छोरालाई कुपोषणको शिकार बनाई मार्ने एक आमालाई अदालतले आजीवन कारावासको सजाय दिएको छ ।
शीला ओ’लीरी नामक ती महिलाको परिवारले कठोर रूपमा भिगन खाना खाने गरेको छ । त्यो भनेको माछामासु, दूध, अण्डा, मह लगायत पशु उत्पादनको सेवन नगर्ने काम हो ।
महिलालाई गत जुन महिनामा ६ वटा अपराधमा कसूरदार ठहर गरिएको थियो । कुपोषणका कारण उनको छोरा एज्रा ओ’लीरीको मृत्यु भएको पुष्टि भएको थियो ।
फ्लोरिडास्थित ली काउन्टीमा उनलाई सजाय सुनाइँदा उनले कुनै पनि भाव प्रदर्शन गरिनन् । आफूले कुनै पनि बयान नदिने उनले न्यायाधीशलाई बताइन् ।
उनका पति रायन प्याट्रिक ओ’लीरीमाथि पनि यस्तै किसिमको अभियोग छ । उनी कारागारमा बसेर पुर्पक्ष कुरिरहेका छन् ।




















