काठमाण्डौं । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा.गोविन्द केसीले २० औं सत्याग्रह २ साता पछि सारेका छन् । सरकारी पक्षद्वारा आफ्ना माग पूरा गर्न केही समय मागेकाले सत्याग्रहको कार्यक्रम २ साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसबीचमा माग पुरा नभए भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने केसीले पत्रकार सम्मेलनमा जानकारी दिए । डा.केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए ।
डा.केसीले स्वास्थ्य सेवा क्षेत्रमा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउन माग गरेका छन् ।
त्यसैगरी, जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने माग राखेका छन् ।
डा.केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न पनि माग गरेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग अघि सारेका छन् ।























